गृहमन्त्री अर्याल र ऊर्जामन्त्री घिसिङले जहाजको टिकट नपाएपछि इलाम भ्रमण स्थगित

काठमाडौँ – गृहमन्त्री ओम प्रकाश अर्याल र ऊर्जामन्त्री कुलमान घिसिङ सोमबार इलाम जाने तयारीमा रहे पनि यात्रा स्थगित भएको छ। गृह मन्त्रालयका स्रोतका अनुसार जहाजको टिकट नपाएपछि भ्रमण रोकिएको हो। मन्त्री अर्याल र घिसिङले अविरल वर्षा र पहिरोबाट प्रभावित इलामका विभिन्न स्थानहरूको स्थलगत निरीक्षण गर्ने योजना बनाएका थिए। असोज १८ र १९ गते परेको अविरल वर्षापछि इलाममा सबैभन्दा ठूलो जनधन र संरचनात्मक क्षति भएको थियो।

सरकारी टोली काठमाडौँबाट नियमित उडानमार्फत झापाको भद्रपुर पुग्ने र त्यसपछि हेलिकप्टरमार्फत इलाम जाने तयारी थियो। तर, सोमबारको उडानका लागि टिकट नपाएपछि भ्रमण स्थगित गरिएको गृह मन्त्रालय स्रोतले जनाएको छ। ‘आज त्यता जाने भनिएको थियो, तर टिकट नपाएपछि स्थगित भयो,’ स्रोतले भन्यो, ‘अहिले अर्को मिति तय भएको छैन।’

मन्त्री अर्याल र घिसिङसँगै गृह सचिव, ऊर्जा सचिव र भौतिक पूर्वाधार सचिव पनि इलाम जाने तयारीमा थिए। इलाममा गएको पहिरोले बस्ती पुर्दा तीन दर्जनभन्दा बढी व्यक्तिको ज्यान गएको थियो भने सयौं परिवार विस्थापित भएका छन्। सरकारले इलामसहित कोशी प्रदेशका अन्य प्रभावित जिल्लाहरूमा उद्धार, राहत र पुनःस्थापनाका कार्यलाई तीव्रता दिने जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्