काठमाडौँ – अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण कोशी प्रदेशमा ठूलो जनधनको क्षति भएको छ। प्रदेशभर मृत्यु हुनेको संख्या ४९ पुगेको छ भने १७ जना घाइते भएका छन्। प्रहरीका अनुसार देशभर मृत्यु हुनेको संख्या ५२ पुगेको छ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार इलाममा मात्रै ३७ जनाले ज्यान गुमाएका छन् भने १ जना अझै बेपत्ता छन्। इलामका मृतकमध्ये १३ जना पुरुष, १४ जना महिला, ३ जना बालक र ७ जना बालिका रहेका छन्। पहिरो र बाढीका कारण पाँचथरमा २ जनाको मृत्यु भएको छ भने उदयपुर र खोटाङमा पनि २–२ जनाले ज्यान गुमाएका छन्। यसअघि शनिबार भएका विभिन्न दुर्घटनामा ६ जनाको मृत्यु भएको थियो।
बाढीले मोरङमा १ जना महिलाको ज्यान लिएको छ भने झापामा १ जना पुरुषको शव फेला परेको छ। लगातारको वर्षाका कारण सडक, विद्युत् र सञ्चार सेवा प्रभावित बनेका छन्। कतिपय स्थानमा उद्धारकार्यमा समेत कठिनाइ भएको अधिकारीहरूले बताएका छन्।
प्रहरीका अनुसार बाढी र पहिरोका कारण ६ हजारभन्दा बढी परिवार विस्थापित भएका छन्। झापामा सबैभन्दा बढी ५ हजार ४२५ घरपरिवार विस्थापित भएका छन् भने मोरङमा ३८६, सुनसरीमा ४५, धनकुटामा ६, उदयपुरमा ३ र खोटाङमा ३ घरपरिवार विस्थापित भएका छन्।
प्रदेश प्रहरी र स्थानीय प्रशासनले उद्धार तथा राहत कार्यलाई प्राथमिकता दिइरहेका छन्। इलामका केही बस्तीमा अझै सम्पर्क हुन बाँकी भएकाले मृत्यु र क्षतिको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ। लगातारको वर्षा र पहिरोका कारण प्रदेशका पहाडी क्षेत्रका बासिन्दा त्रासमा रहेका छन्।







