काठमाडौं – प्रतिकूल मौसमका कारण विश्वको सर्वोच्च शिखर सगरमाथाको तिब्बततर्फको पूर्वी भागमा सयौं आरोही र पर्यटकहरु फसेका छन् । बाक्लो हिमपातका कारण पदमार्ग अवरुद्ध भएपछि उनीहरू अलपत्र परेका हुन् ।
चिनियाँ समाचार संस्थाहरूका अनुसार केहीलाई उद्धार गरिए पनि अझै करिब एक हजार जना आरोही तथा सहयोगीहरू फसेका छन् । रोयटर्सले उद्धृत गरेको जिमु न्यूजका अनुसार स्थानीय बासिन्दा र उद्धार टोलीका सदस्यहरू करिब ४ हजार ९०० मिटर उचाइमा उद्धार कार्यमा जुटिरहेका छन् । उनीहरूले हिउँ हटाउने र बाटो खुलाउने प्रयास गरिरहेका छन् ।
शुक्रबार साँझदेखि सुरु भएको बाक्लो हिमपात शनिबारसम्म निरन्तर जारी रह्यो । त्यसपछि तिब्बतको टिङ्ग्री काउन्टी पर्यटन समितिले सगरमाथा अवलोकनका लागि टिकट बिक्री स्थगित गरेको जानकारी आफ्नो आधिकारिक WeChat अकाउन्टमार्फत् सार्वजनिक गरेको थियो । नेपालतर्फको सगरमाथा क्षेत्र पनि मौसमको प्रभावबाट अछुतो छैन । नाम्चे र जोरसल्लेबीचको मुख्य पदमार्ग पहिरोका कारण क्षतिग्रस्त भएको नेपाल ट्रेकिङ एजेन्सिज् एसोसिएसन (TAN) ले जनाएको छ । टानले सो खण्डमा यात्रा गर्ने पदयात्रीहरूलाई सावधानी अपनाउन र विकल्पका रूपमा मूल बाटोभन्दा केही माथि रहेको खच्चर हिंड्ने बाटो प्रयोग गर्न आग्रह गरेको छ ।
बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको प्रभावले नेपालमा असोज १८ र १९ गते अत्यधिक वर्षा र बाढी–पहिरो ल्याएको थियो । सोही समयमा इलाममा मात्र ३७ जनाको मृत्यु भएको सरकारी तथ्याङ्कले जनाउँछ । उता सगरमाथा क्षेत्रमा पनि असामान्य रूपमा धेरै हिमपात भइरहेको बताइएको छ । यसै कारण आरोही तथा पर्यटकहरू अप्ठ्यारोमा परेका हुन् । चिनियाँ समाचार संस्था सीसीटीभीका अनुसार अप्ठ्यारोमा परेकामध्ये करिब ३५० जनालाई उद्धार गरी कुदाङ शहर पुर्याइएको छ भने २०० भन्दा बढी व्यक्तिसँग सम्पर्क स्थापित भइसकेको छ ।







