अलपत्र यात्रुहरूलाई आज दिउँसो भैरहवाबाट चार्टर्ड फ्लाइटमार्फत काठमाडौं ल्याइने

बुटवल – लगातारको भारी वर्षाका कारण सडक यातायात ठप्प भएपछि भैरहवामा अलपत्र परेका यात्रुहरूलाई आज (सोमबार) दिउँसो नेपाल वायुसेवा निगमको चार्टर्ड फ्लाइटमार्फत काठमाडौं ल्याइने भएको छ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार आइतबार राति सञ्चालन गर्ने भनिएको उडान अन्तिम समयमा तयारी नपुगेका कारण स्थगित गरिएको थियो। “हिजो विभिन्न कारणले तयारी पुगेन, आज दिउँसो २:४५ बजे फ्लाइट हुने तय भएको छ,” तिवारीले जानकारी दिए।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेका अनुसार विमान आज दिउँसो १ बजे काठमाडौंबाट भैरहवा आइपुग्ने र २:४५ बजे काठमाडौंका लागि उडान भर्ने तयारी गरिएको छ। यात्रुहरूको टिकट काट्न अनलाइन प्रणालीमा समस्या देखिएपछि जिल्ला प्रशासन कार्यालयले आफैं नाम संकलन गरेर प्राथमिकताका आधारमा यात्रु पठाउने व्यवस्था मिलाएको छ। प्रजिअ पाण्डेले भने, “सिस्टममा समस्या भएकाले प्रशासनले नै यात्रुको नाम टिपोट गरेर पठाउने तयारी गरेको हो।”

नेपाल वायुसेवा निगमले हिजो (आइतबार) साँझकै लागि १५८ सिट क्षमताको ए–३२० जहाजमार्फत यात्रु पठाउने तयारी गरेको थियो। नागरिक उड्डयन प्राधिकरणसँग साँझ ७:१५ देखि ९:४५ बजेसम्म काठमाडौं–भैरहवा र भैरहवा–काठमाडौं उडानका लागि अनुमति पनि लिइएको थियो। निगमले काठमाडौं–भैरहवा मार्गको भाडा ५ हजार रुपैयाँ र भैरहवा–काठमाडौं मार्गको भाडा ७ हजार रुपैयाँ निर्धारण गरेको छ। प्रशासनका अनुसार उपचारका लागि काठमाडौं जानुपर्ने बिरामी, विदेश अध्ययन वा रोजगारीका लागि टिकट काटिसकेका यात्रु, तथा विदेशी पर्यटकहरूलाई प्राथमिकता दिई आजको उडानमार्फत काठमाडौं पठाइनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्