काठमाडौं – अविरल वर्षा रोकिएसँगै सरकारले काठमाडौं भित्रिने र बाहिरिने सडक मार्ग खोल्ने तयारी गरेको छ। बीपी राजमार्गबाहेक अन्य प्रमुख राजमार्गहरूमा यातायात सञ्चालनको लागि अनुमति दिने योजना बनाइएको छ। जल तथा मौसम विज्ञान विभागले पश्चिमतर्फ यातायात सञ्चालनका लागि मौसम अनुकूल भएको जानकारी सरकारी निकायहरूलाई दिइसकेको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोतका अनुसार काठमाडौं–नारायणगढ र काठमाडौं–पोखरा सडक खण्डमा यातायातका साधन सञ्चालनको तयारी भइरहेको छ। मन्त्रालय स्रोतले भने, “केही स्थानमा साना–साना पहिराहरू छन्, ती पन्छाएपछि पश्चिमतिरको बाटो खुल्नेछ। मौसम विभागले थप वर्षाको सम्भावना नरहेको जानकारी दिएकाले गाडी सञ्चालनको अनुमति दिइनेछ।”
आज दिउँसोबाट पूर्वी क्षेत्रमा पनि वर्षा गराउने प्रणाली निष्क्रिय हुने सम्भावना छ। पूर्वानुमानभन्दा छिटो मौसम सफा भएकोले पश्चिमतर्फ यातायात सञ्चालनका लागि अनुकूल वातावरण बनेको छ।
सरकारले वर्षा र बाढी–पहिरोको जोखिमका कारण असोज १८, १९ र २० गते काठमाडौं भित्र–बाहिर आवागमनमा रोक लगाएको थियो। यद्यपि, वर्षा रोकिएसँगै आज बिहानबाट आन्तरिक हवाई उडानहरू भने सुचारु भइसकेका छन्। काठमाडौं उपत्यकामा वर्षा रोकिएपछि जनजीवन क्रमशः सामान्य बन्दै गएको छ। सडक मार्गहरू खुल्ने तयारीसँगै सर्वसाधारणको आवागमन सहज हुने अपेक्षा गरिएको छ।






