रौतहटमा चट्याङ लागेर दुई किशोरको मृत्यु, वर्षासँगै हावाहुरीले जनजीवन प्रभावित

रौतहट । रौतहटको कटहरिया नगरपालिका–२, हथियाही गाउँमा शनिबार साँझ चट्याङ लागेर दुई किशोरको मृत्यु भएको छ। निरन्तर परिरहेको वर्षासँगै आएको हावाहुरी र चट्याङका कारण स्थानीय बासिन्दा त्रसित बनेका छन्।

मृत्यु हुनेमा सोही गाउँका १६ वर्षीय सेराज लहेरी र १६ वर्षीय नवीन यादव रहेका छन्। उनीहरूलाई बाटोमा हिँडिरहेका बेला चट्याङ लागेको प्रहरीले जनाएको छ।

घटनापछि दुवैजनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

साँझसम्म जिल्लाभर भारी वर्षा, मेघगर्जन र चट्याङ जारी रहँदा सामान्य जनजीवन प्रभावित भएको छ। विद्युत् आपूर्तिमा समेत अवरोध पुगेको र कतिपय स्थानमा घरमा क्षति पुगेको जानकारी प्राप्त भएको छ।

यसैबीच, लगातारको वर्षापछि चलेको हावाहुरीले चन्द्रनिगाहपुर–बागमती सडकखण्डमा रुख ढलेर सवारीसाधन आवागमन अवरुद्ध बनाएको थियो। सुरक्षाकर्मीहरूले रुख पन्छाएपछि करिब आधा घण्टापछि सडक सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्