चितवन । निरन्तर वर्षाका कारण पहिरोको जोखिम बढेपछि शनिबार साँझ ६ बजेदेखि नारायणघाट–मुग्लिन सडकखण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाइएपछि यात्रुहरू अलपत्र परेका छन्। यात्रुहरूको तत्काल व्यवस्थापनका लागि चितवनका होटल व्यवसायीहरूले नि:शुल्क तथा न्यून शुल्कमा आवास सुविधा उपलब्ध गराएका छन्।
चितवन जिल्ला प्रशासन कार्यालयका अनुसार सडक बन्दपछि सडकमा करिब ४०–५० वटा सवारीसाधन रोकिएका छन् भने दुई सयभन्दा बढी यात्रु बाटोमै अलपत्र परेका छन्। उनीहरूलाई असुविधा नहोस् भनेर होटल व्यवसायी संघ चितवनसँग सहमति गरी २५ प्रतिशत मात्रै कोठा भाडा लिने व्यवस्था गरिएको छ।
संघले जिल्लाभरका होटलहरूलाई सहयोगका लागि तयारी अवस्थामा रहन आग्रह गरेको छ। चितवनमा करिब तीन सय होटल सञ्चालनमा रहेका छन्, जसले १२ सय यात्रु सम्मलाई आवास सुविधा उपलब्ध गराउन सक्ने अनुमान गरिएको छ।
सौराहादेखि नारायणघाटसम्मका होटलहरूले पनि यात्रुहरूलाई नि:शुल्क वा सहुलियतमा कोठा उपलब्ध गराउने तयारी गरेका छन्। केही होटलहरूले आफैं अग्रसर भई निःशुल्क कोठा र खानाको व्यवस्था मिलाएका छन्।
सडक पुनः सञ्चालनमा नआउँदासम्म यात्रुहरूलाई सुरक्षित आवास र आवश्यक सहयोग उपलब्ध गराउन प्रशासन, प्रहरी र होटल व्यवसायीबीच निरन्तर समन्वय भइरहेको छ।






