काठमाडौं । अविरल वर्षाका कारण पहिरोको जोखिम अत्यधिक बढेपछि मुग्लिन–नारायणगढ सडकखण्डमा सवारीसाधन आवागमन रोक लगाइएको छ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार शनिबार साँझ ६ बजेदेखि सो सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमनमा अस्थायी रूपमा रोक लगाइएको हो।
डिभिजनका अधिकारीका अनुसार देशका अधिकांश भागमा निरन्तर वर्षा भइरहेको र विशेषगरी तुइन खोलालगायतका स्थानहरूमा पहिरो खस्ने जोखिम उच्च भएकाले सुरक्षाको दृष्टिले सडक बन्द गरिएको हो।
डिभिजनले सम्भावित दुर्घटनाबाट बच्नका लागि सुरक्षा निकायसँग समन्वयमा सडक बन्द गरिएको जानकारी दिएको छ। साथै, अत्यावश्यक कारणले यात्रा गर्नुपर्ने सवारीसाधनका चालक वा यात्रीहरूले सम्बन्धित सुरक्षा निकायसँग अग्रिम समन्वय गर्न आग्रह गरिएको छ।






