प्रधानमन्त्री कार्कीको अपील : “तपाईंको सुरक्षा नै हाम्रो सर्वोपरी चिन्ता हो” (भिडियो)

काठमाडौं – बाढी, पहिरो र डुबानका घटनाहरू तीव्र हुँदै गएपछि प्रधानमन्त्री सुशीला कार्कीले देशभरका नागरिकलाई शान्त रहन र सुरक्षा सावधानी अपनाउन आग्रह गरेकी छिन् । देशबासीका नाममा जारी भिडियो सन्देशमार्फत प्रधानमन्त्री कार्कीले नागरिकको सुरक्षा नै सरकारको प्रमुख र सर्वोपरी चिन्ता रहेको स्पष्ट पार्दै जोखिमका बेला राज्यका सबै स्रोत र निकाय नागरिकको साथमा रहेको आश्वासन दिएकी छिन् ।

प्रधानमन्त्रीले भनिन्, “कुनै पनि कार्य गर्दा जोखिमको पूर्व आकलन गरी सुरक्षालाई उच्च प्राथमिकता दिएर गर्नुहोस् । तपाईंहरूको सुरक्षा नै हाम्रो सर्वोपरी चिन्ता हो । आवश्यक सहयोग लिन अप्ठेरो नमान्नुस् । हामी तपाईंहरूको कठिनाई बुझ्छौं — तपाईं यसमा एक्लो हुनुहुन्न, राज्यका सम्पूर्ण स्रोत तपाईंहरूसँगै छन् ।”

उनका अनुसार निरन्तर वर्षाका कारण देशका विभिन्न भूभागमा बाढी, पहिरो, डुबान र कटानको जोखिम बढ्दै गएको छ र यो परिस्थिति अझै जटिल बन्नसक्ने अवस्था छ । सरकारका तर्फबाट उद्धार र राहतका सबै संयन्त्रहरू पूर्ण तयारीका साथ सक्रिय रहेको उल्लेख गर्दै उनले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्वास्थ्यकर्मी र प्रशासनका सबै निकायहरू २४ सै घण्टा नागरिकको सहयोगका लागि तत्पर रहेको जानकारी दिइन् ।

प्रधानमन्त्री कार्कीले जोखिम क्षेत्रका नागरिकलाई अनावश्यक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न आग्रह गर्दै भनिन्, “महत्त्वपूर्ण राजमार्ग र पूर्वाधारको अवस्था सक्रिय रूपमा निगरानी भइरहेको छ । तपाईं जहाँ हुनुहुन्छ, त्यहाँ सुरक्षित रहनुस् र अरूलाई पनि सुरक्षित रहन प्रेरित गर्नुहोस् ।” बाढीपहिरोबाट प्रभावित नागरिकहरूलाई तत्काल उद्धार र राहत उपलब्ध गराउन सरकार उच्च सतर्कता र समन्वयका साथ क्रियाशील रहेको प्रधानमन्त्री कार्कीको सन्देशमा उल्लेख गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्