प्रमुख जिल्ला अधिकारीहरूलाई २४ सै घण्टा सतर्क रहन गृहको आदेश

काठमाडौं – लगातारको वर्षासँगै देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानको जोखिम बढेपछि गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सुरक्षा निकायका प्रमुखहरूलाई २४ सै घण्टा कार्यालयमा उपलब्ध रहन निर्देशन दिएको छ।

मन्त्रालयले शुक्रबार सबै जिल्लामा पत्र पठाउँदै प्रतिकूल मौसमका कारण उत्पन्न हुन सक्ने सम्भावित विपद्‌को व्यवस्थापनमा तत्कालीन रूपमा सक्रिय हुन आग्रह गरेको हो।

निर्देशनमा राजमार्गमा रोकिएका सवारी साधनहरूलाई सडक तथा मौसमको अवस्थाअनुसार गन्तव्यसम्म पुर्‍याउने सहजीकरण गर्न भनिएको छ। साथै, यात्रुहरू अलपत्र परेमा स्थानीय तह र सम्बन्धित संघ–संस्थासँगको समन्वयमा खानपानको व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ। त्यसैगरी, राजमार्गमा रोकिएका एम्बुलेन्सहरूलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुग्न सहयोग पुर्‍याउन गृह मन्त्रालयले निर्देशन दिएको छ। बाटोमा अलपत्र परेका गर्भवती महिलाहरूलाई नजिकको स्वास्थ्य संस्था वा बर्थिङ सेन्टरसम्म पुर्‍याउने व्यवस्था मिलाउन पनि विशेष ध्यान दिन भनिएको छ।

मन्त्रालयले बाढी तथा पहिरोको जोखिमपूर्ण स्थानमा बसोबास गरिरहेका व्यक्ति वा परिवारहरूलाई स्थानीय पालिकाको समन्वयमा नजिकको विद्यालय वा खुला स्थानमा सुरक्षित रूपमा स्थानान्तरण गर्न आग्रह गरेको छ। गृह मन्त्रालयले सबै प्रदेश, जिल्ला र स्थानीय तहका विपद् व्यवस्थापन संयन्त्रहरूलाई सर्तक रहँदै जनधनको क्षति न्यून गर्न आवश्यक तयारी गर्न आग्रह गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्