काठमाडौं – देशभर भारी वर्षाको उच्च सम्भावना रहेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै सरकारी कर्मचारीलाई आगामी शनिबार (असोज १८ गते) सम्म कार्यस्थल पुग्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।
काठमाडौं भित्रिने र बाहिरिने सवारीसाधन तीन दिनका लागि रोक्ने निर्णय भएको केही घण्टामै प्रधानमन्त्री कार्यालयबाट सो निर्देशन जारी गरिएको हो।
सामान्य प्रशासन मन्त्रालयका उपसचिव भुवनेश्वर लामिछानेले शुक्रबार जारी गरेको अत्यावश्यक सूचनामा भनिएको छ, “जल तथा मौसम विज्ञान विभागका अनुसार असोज १७ देखि २० गतेसम्म देशका विभिन्न भागहरूमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले आ–आफ्ना मन्त्रालय अन्तर्गतका जिल्लास्थित कार्यालय प्रमुखहरूले असोज १८ गतेसम्म कार्यस्थल पुग्ने व्यवस्था मिलाउन र विपद् सतर्कता, पूर्वतयारी तथा प्रतिकार्यमा जुट्न निर्देशन प्राप्त भएको छ।”
मन्त्रालयले सबै जिल्ला समन्वय अधिकारी र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूलाई उक्त निर्देशन तुरुन्त कार्यान्वयन गर्न अनुरोध गरेको छ। यसअघि सरकारले देशभर वर्षाको उच्च जोखिमका कारण उपत्यका भित्रिने र बाहिरिने सवारीसाधन तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको थियो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार असोज १८ देखि २० गतेसम्म पूर्वको कोशीदेखि पश्चिमको लुम्बिनी प्रदेशसम्म चट्याङसहित हल्का देखि मध्यम वर्षा भई केही स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको छ।”
भारी वर्षा र बाढी–पहिरोको जोखिमका कारण कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दूरीका सवारी साधनहरू तथा काठमाडौं उपत्यका भित्रिने–बाहिरिने यातायात सेवा असोज १८, १९ र २० गतेका लागि बन्द गरिएको सूचनामा उल्लेख गरिएको छ। प्राधिकरणले सम्भावित जोखिम न्यूनिकरणका लागि सर्वसाधारणलाई अनावश्यक यात्रा नगर्न र उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।






