काठमाडौं -बिहानदेखि निरन्तर परिरहेको अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै आन्तरिक उडानहरू स्थगित गरिएको छ।
विमानस्थल कार्यालयका महाप्रबन्धक हङ्सराज पाण्डेका अनुसार प्रतिकूल मौसमी अवस्थाका कारण काठमाडौं, भरतपुर, जनकपुर, भद्रपुर, पोखरा र तुम्लिङटार विमानस्थलका उडानहरू प्रभावित भएका हुन्।
“मौसमी अवस्थाको पुनरावलोकन भइरहेको छ। अन्तर्राष्ट्रिय उडानहरू यथावत् भइरहेका छन्,” पाण्डेले बताए, “अविरल वर्षाको क्रममा आन्तरिक उडान सञ्चालन जोखिमपूर्ण हुने भएकाले अहिलेका लागि उडान स्थगन गरिएको हो।”
अविरल वर्षाका कारण आज बिहानदेखि आन्तरिक उडानहरूमा असर परेको हो। काठमाडौंसहित देशका विभिन्न भागहरूमा लगातार वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार आज र भोलि देशका धेरै स्थानहरूमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको चेतावनी जारी गरिएको छ।
(रासस)






