काठमाडौं – लगातारको वर्षासँगै काभ्राको रोशी खोलाको सतह अत्यधिक बढेपछि बीपी राजमार्गमा आवतजावत पूर्णरुपमा रोक लगाइएको छ।
काभ्राका प्रमुख जिल्ला अधिकारी (सीडीओ) उमेशकुमार ढकालका अनुसार रोशी खोलामा पानीको बहाव बढ्नुका साथै विभिन्न खहरेखोलामा पहिरो सहित लेदो आएको र केही स्थानमा ढुङ्गा राजमार्गमा खस्दा जोखिम बढेको हो। त्यस कारण शुक्रबार रातिदेखि बीपी राजमार्गमार्फत सवारी साधन सञ्चालन रोकिएको उनले जानकारी दिए।
“रोशी खोलामा पानीको सतह अत्यधिक बढेको छ। बीपी राजमार्ग अहिले डाइभर्सनको रुपमा प्रयोग भइरहेको भएकाले सम्भावित जोखिम न्यूनीकरण गर्न सवारी साधन पूर्णरुपमा रोकिएका छन्,” सीडीओ ढकालले बताए।
यसैबीच, मौसमविद्हरूले आज बिहान ११ बजेदेखि थप ठूलो पानी पर्ने सम्भावना रहेको जानकारी दिएपछि जिल्ला विपद् व्यवस्थापन समितिको आकस्मिक बैठक समेत बोलाइएको छ।
हाल बीपी राजमार्ग प्रयोग गर्ने सवारी साधन रोकिएका छन्। धुलिखेल हुँदै गएका सवारी साधन काभ्रेभञ्ज्याङ र भकुण्डेमा रोकिएका छन् भने सिन्धुलीबाट आएका सवारी साधन नेपालथोक र खुर्कोट क्षेत्रमा रोकिएको प्रहरीले जनाएको छ।






