काठमाडौं — धादिङतर्फ पहिरो खसेर सडक अवरुद्ध भएपछि नागढुंगा चेकपोस्टबाट बाहिरिन खोजेका सवारी साधनलाई प्रहरीले फर्काएको छ।
प्रहरीले माइकिङ गर्दै नागढुंगा–मुग्लिन सडकखण्डमा पहिरो खसेको र तत्काल सडक खुल्ने अवस्था नभएकाले यात्रामा ननिस्कन आग्रह गरेको थियो। त्यसपछि चेकपोस्टमा रोकिएका गाडीहरू काठमाडौं फर्कन थालेका हुन्।
नागढुंगा ट्राफिक प्रहरी चेकपोस्टका अनुसार शनिबार बिहान साढे ९ बजेसम्म करिब २ सय सवारीसाधन काठमाडौं फर्किएका छन्। बिहानैदेखि अविरल वर्षाका कारण सडकका विभिन्न स्थानमा पहिरो खसेपछि प्रहरीले यात्रामा नगर्न अनुरोध गर्दै आएको हो।
यात्रु र चालकले प्रहरीको अनुरोधलाई मान्दै फर्किन थालेपछि ट्राफिक प्रहरीले कृतज्ञता प्रकट गरेको छ। माइकिङमार्फत प्रहरीले भन्यो, “हाम्रो अनुरोध सुनेर फर्कनुभएका सम्पूर्ण यात्रु, चालक/सहचालक सबैमा हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छौं। तपाईंहरूको सुरक्षा हाम्रो जिम्मेवारी हो।”
प्रहरीले नागढुंगा–मुग्लिन सडक खण्डमा जोखिम अझै कायम रहेको भन्दै यात्रामा ननिस्कन पुनः आग्रह गरेको छ।






