भारी वर्षाको सम्भावना, भोलिदेखि राजमार्ग बन्द गर्न विशेषज्ञको सुझाव

FILE PHOTO

काठमाडौँ — मौसम पूर्वानुमानका विभिन्न मोडेलहरुले फरक–फरक नतिजा देखाए पनि गत वर्षझैँ असोज ११–१२ कै आसपास भारी वर्षा हुने सम्भावना रहेको मौसमविद् डा. विनोद पोखरेलले बताएका छन्। उनका अनुसार विशेष गरी चितवन, मकवानपुर, काठमाडौँ र काभ्रेपलाञ्चोक क्षेत्रमा यात्रुको चाप बढ्ने भएकाले शनिबार अपरान्हदेखि नै राजमार्ग बन्द गर्नु उपयुक्त हुन्छ।

काठमाडौँ उपत्यकाभित्रका दक्षिणी क्षेत्रलाई यसपालि बढी जोखिमयुक्त मानिएको छ। नारायणगढ–मुग्लिन–नागढुंगा, हेटौंडा–काठमाडौं, बनेपा–बर्दिबास लगायतका राजमार्ग तथा आसपासका सडक पहिरो र डुबानको उच्च जोखिममा रहेका विशेषज्ञको भनाइ छ।

विपद् व्यवस्थापन विज्ञ डा. धर्मराज उप्रेतीले अति भारी वर्षाका बेला जोखिमयुक्त राजमार्ग मात्र होइन, काठमाडौँ उपत्यकाभित्रको आवतजावत समेत नियन्त्रण गर्न सुझाव दिएका छन्। उनका अनुसार बागमती, हनुमन्ते, धोबीखोला, नख्खु र विष्णुमती किनारका बासिन्दालाई विशेष सतर्क रहनु जरुरी छ।

यसैबीच, स्थानीय प्रशासनले बीपी राजमार्ग, कान्तिपथ र हेटौंडा–भैंसे–काठमाडौं सडकमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइसकेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले पनि रातिको समयमा अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ।

मौसमविद्हरूका अनुसार शनिबारदेखि आइतबारसम्म काठमाडौँ उपत्यका र आसपासमा भारी वर्षा हुनेछ भने आइतबार रातिसम्ममा कोशी प्रदेशमा वर्षा केन्द्रित हुनेछ। सोमबारदेखि भने मौसममा क्रमिक सुधार आउने अनुमान गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्