काठमाडौँ – यात्रु हितको नाममा बारम्बार वायुसेवा कम्पनीलाई भाडा दर नबढाउन निर्देशन दिने नेपाल नागरिक उड्डयन प्राधिकरणले नै आन्तरिक हवाइ मार्गमा चर्को भाडा तोक्दै सूची सार्वजनिक गरेपछि आलोचना सुरु भएको छ। बिहीबार सार्वजनिक गरिएको नयाँ सूचीअनुसार काठमाडौं–धनगढीको अधिकतम भाडा १७ हजार ५७९ रुपैयाँ, काठमाडौं–नेपालगञ्ज १३ हजार १०३, काठमाडौं–भद्रपुर १२ हजार ११२ र काठमाडौं–पोखरा ६ हजार ६३५ रुपैयाँ तोकिएको छ।
प्राधिकरणको यस्तो निर्णयले यात्रुहरूको आर्थिक बोझ झन् बढाउने र हवाई यात्रा सर्वसाधारणको पहुँचबाट टाढा पुर्याउने भन्दै तीव्र विरोध भइरहेको छ। विशेषज्ञहरूका अनुसार नियामक निकायकै तर्फबाट यात्रुहित विपरीत निर्णय आउनु विडम्बनापूर्ण रहेको छ। उनीहरू भन्छन्, “प्राधिकरणले भाडा नियन्त्रण गर्नुपर्नेमा उल्टै महँगो दर तोक्नु यात्रु अधिकारमाथिको ठट्टा हो।”







