काठमाडौँ –नेपालमा यस वर्ष मनसुन केही समय ढिला मात्रै बाहिरिने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन बाहिरिने औसत मिति असोज १६ (अक्टोबर २) भए पनि यसपटक सक्रिय अवस्था लामो समय रहने अनुमान गरिएको छ। वरिष्ठ मौसमविद् मीनकुमार अर्यालका अनुसार यो वर्ष मनसुन जेठ १५ गते पूर्वी नेपालबाट प्रवेश गरेर असार ६ गतेसम्म देशभर फैलिएको थियो। सरदर मितिभन्दा करिब १५ दिनअघि नै भित्रिएको मनसुन ढिला बाहिरिने अवस्थामा पुगेको हो।
अर्यालले बंगालको खाडीबाट उत्पन्न न्यून चापीय प्रणाली, मनसुनी वायु र स्थानीय मौसमी प्रभावका कारण हाल पुनः सक्रियता बढेको उल्लेख गर्दै शुक्रबार अपराह्नदेखि केही दिनसम्म अति भारी वर्षा हुने सम्भावना रहेको बताए। उनका अनुसार शनिबार र आइतबार बढी वर्षा हुने अनुमान छ भने सोमबारदेखि क्रमशः मौसममा सुधार हुँदै जानेछ।
‘त्यसपछि पश्चिमी वायुको प्रभाव कस्तो रहन्छ भन्ने आधारमा मनसुन बाहिरिने समय निर्धारण हुनेछ,’ अर्यालले भने। यस वर्ष मनसुन जेठ १५ गते प्रवेश गरी क्रमशः जेठ २९ सम्म मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा फैलिएको थियो। असार ६ गतेदेखि भने देशभर मनसुन सक्रिय भएको थियो।






