काठमाडौं – सधैं भिडभाड र व्यस्त रहने काठमाडौं उपत्यका दशैं नजिकिँदै जाँदा सुनसान बन्दै गएको छ। सामान्यतया गाडीको भीडले अस्तव्यस्त देखिने चोक र गल्लीहरू अहिले प्रायः खाली जस्तै देखिएका छन्।
भोलि दशैंको मुख्य दिन टीका परेकाले उपत्यकाबाट परिवार भेट्न घरतर्फ लाग्नेहरूको संख्या बढ्दा चहलपहल घटेको देखिन्छ। पसलहरू पनि आंशिक रूपमा मात्रै खुलेका छन्। मुख्य चोकमा मात्र केही चहलपहल देखिए पनि उपत्यकाको अधिकांश भाग सुनसान देखिएको छ।
देशका ७७ जिल्लाबाट विभिन्न कामधन्दा र व्यवसायका लागि राजधानी आएका मानिसहरू वर्षमा एकपटक दशैंमा घर फर्कने परम्परा रहँदै आएको छ। यसै कारण अहिले उपत्यकामा सवारी चाप झन्डै ५० प्रतिशतले घटेको ट्राफिक प्रहरीले जनाएको छ।
हाल केही मात्रामा सार्वजनिक गाडी चलिरहेको भए पनि यात्रुको भीड राजधानी छाड्नेहरूतर्फ केन्द्रित भएको छ। ट्राफिक प्रहरीको तथ्यांकअनुसार अहिलेसम्म करिब साढे पाँच लाख मानिसले काठमाडौं उपत्यका छाडेका छन्।






