ओली तथा लेखक लगायतको राहदानी रोक्का गर्ने निर्णयको कांग्रेसद्वारा विरोध

काठमाडौं – नेपाली कांग्रेसले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान गृहमन्त्री रमेश लेखक लगायतका व्यक्तिहरूको राहदानी रोक्का गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ। कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रेस वक्तव्य जारी गर्दै सरकारले राहदानी रोक्का गर्ने र मुलुकभित्र पनि आवतजावतमा निषेध गर्ने किसिमका निर्णय राजनैतिक प्रतिशोधपूर्ण भएको भन्दै विरोध व्यक्त गरेका छन्।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि आन्दोलन सम्बन्धी घटनाको जाँचबुझका लागि आयोग गठन गरिएको थियो। उक्त आयोगको सिफारिसमा सरकारले निवर्तमान प्रधानमन्त्री ओली र निवर्तमान गृहमन्त्री लेखकसहित पाँच व्यक्तिको राहदानी रोक्का गर्ने निर्णय गरेको थियो। साथै, गृह मन्त्रालयका पूर्वसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धानका पूर्वप्रमुख हुतराज थापा र जिल्ला प्रशासन कार्यालय काठमाडौंका पूर्वप्रमुख छवि रिजालको पासपोर्ट पनि रोक्का गर्ने निर्णय भएको छ।

सरकारले यी पाँचै व्यक्तिलाई विदेश भ्रमण गर्न रोक्ने र स्वीकृतिबिना काठमाडौं उपत्यका बाहिर नजान दिने पत्राचार राहदानी विभागलाई गरेको छ। कांग्रेसले यसलाई राजनैतिक प्रतिशोधपूर्ण व्यवहार भएको ठहर गरेको छ। प्रेस वक्तव्यमा भनिएको छ, “राहदानी रोक्का गर्ने र मुलुकभित्र आवतजावत निषेध गर्ने निर्णयले सरकारले तोकिएको जिम्मेवारी पूरा गर्ने वा शान्ति सु–व्यवस्था कायम गर्ने भन्दा फरक बाटो हिँड्न खोजेको देखाउँछ।”

कांग्रेसले अन्तरिम सरकारलाई दण्डहीनतालाई प्रोत्साहन नगर्न र दलहरूप्रति प्रतिशोधपूर्ण राजनीति नगर्न सचेत गराएको छ। यसअघि नेकपा एमाले निकट राष्ट्रिय युवा संघले पनि निवर्तमान प्रधानमन्त्री ओली र पोलिटब्युरो सदस्य महेश बस्नेतमाथि प्रतिशोध हुने चेतावनी दिएको थियो। युवा संघका अध्यक्ष क्षितिज थेवेले मंगलबार प्रेस विज्ञप्तिमार्फत यस्तो चेतावनी दिएका थिए। दुवै दलका नेतारू र कार्यकर्ताहरूले सामाजिक सञ्जालमार्फत समेत सरकारका पछिल्ला निर्णयको आलोचना गर्दै आएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्