मध्य फिलिपिन्सको सेबु टापुमा गएको शक्तिशाली भूकम्पका कारण बुधबारसम्म मृत्यु हुनेहरूको संख्या ६० पुगेको छ। सेबु प्रान्तको बोगो नजिकै केन्द्रविन्दु भएर ६.९ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पपछि लगातार सयौँ पटक परकम्प आउँदा स्थानीय बासिन्दा रातभर घरभित्र प्रवेश गर्न सकेनन्। अस्पताल परिसरमा घाइते बालबालिकाहरू रोइरहेका र वयस्कहरू चिच्याइरहेका देखिएको छ। त्यहीँ उद्धारकर्मीहरूले स्ट्रेचरमा शव राखी शवगृहतर्फ लैजाने काम जारी राखेका थिए। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का अनुसार केन्द्रीय टापुहरूमा कम्तीमा १४७ जना घाइते भएका छन् भने २२ भवन क्षतिग्रस्त भएको पुष्टि भएको छ। नागरिक सुरक्षा उप–प्रशासक राफेलिटो अलेजान्ड्रोले, “हताहत र क्षतिको विवरण अझै प्राप्त भइरहेका छन्, परिस्थिति अत्यन्त संवेदनशील छ,” बताएका छन्।
घाइतेहरूको भीडले स्थानीय अस्पताल भरिएपछि बोगोका बिरामीलाई करिब १०० किलोमिटर टाढा रहेको प्रान्तीय राजधानी सेबु सहरका अस्पतालहरूमा सारिएको छ। प्रान्तीय गभर्नर पामेला बारिकुएट्रोले गम्भीर घाइतेहरूको आपतकालीन उपचारका लागि अस्पताल बाहिर समेत तम्बूमुनि उपचार गर्नुपरेको जानकारी दिएकी छन्।भूकम्पका कारण ऐतिहासिक संरचना र सार्वजनिक भवनहरूमा क्षति पुगेको छ। उद्धार अधिकारीहरूका अनुसार अँध्यारो, परकम्प र भीडले उद्धार कार्य थप जटिल भएको छ। कतिपय घाइतेहरूलाई अस्पताल बाहिर निलो टेन्टमुनि उपचार गर्न बाध्य हुनुपरेको छ।
फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी एन्ड सिस्मोलोजीका अनुसार हालसम्म ३७९ पटक परकम्प आइसकेका छन्। सुरुमा अवरुद्ध भएको विद्युत् आपूर्ति मध्यरातपछि आंशिक रूपमा सुचारु गरिएको छ।
बान्टायनमा एक व्यावसायिक भवन र विद्यालय ढलेका छन् भने बोगोस्थित एक फास्टफुड रेस्टुरेन्टमा ठूलो क्षति पुगेको जनाइएको छ।






