काठमाडौँ — आज शारदिय नवरात्रको नवौं दिन, अर्थात् महानवमीका दिन नवदुर्गामध्ये अन्तिम स्वरूप सिद्धिदात्री देवीको पूजा–आराधना गरिँदैछ।
शास्त्रीय मान्यताअनुसार यस दिन पूर्ण निष्ठापूर्वक देवीको साधना गर्ने साधकले सबै प्रकारका सिद्धिहरू प्राप्त गर्ने बताइएको छ। सिद्धि भन्नाले आध्यात्मिक शक्ति र दात्री भन्नाले दिने व्यक्तिलाई जनाउँछ, त्यसैले सिद्धिदात्री देवीलाई सम्पूर्ण सिद्धिहरू प्रदान गर्ने शक्ति स्वरूप मानिन्छ।
सिद्धिदात्री देवी सिंह वाहनमा आरूढ भई कमलासनमा विराजमान हुनुहुन्छ। उहाँको दाहिने हातमा जपमाला र गदा तथा बायाँ हातमा शंख र कमल रहन्छ। देवीको कृपाले यक्ष, मुनि, ऋषि, देवता, मानव, दानव सबैले सिद्धि प्राप्त गर्ने विश्वास गरिएको छ।
शास्त्रअनुसार भगवान शिवले पनि सिद्धिदात्री देवीको अनुग्रहबाट अनेकौं उपलब्धिहरू प्राप्त गर्नुभएको र त्यसैको परिणामस्वरूप अर्धनारीश्वर स्वरूप पाउनुभएको जनाइएको छ।
यस दिन भक्तहरूले “ऊँ ह्रीं चामुण्डायै विच्चे नमो नमः” बीजमन्त्र कम्तीमा १०८ पटक जप गर्ने, देवीको ध्यान गर्ने र स्तोत्र पाठ गर्ने परम्परा छ। अन्त्यमा हवन तथा आरती गरी भेटीहरू भक्तजनबीच बाँड्ने चलन रहिआएको छ।






