काठमाडौँ — महानवमीको अवसरमा आज राजधानीको तलेजु भवानी मन्दिरमा बिहानैदेखि भक्तजनहरूको बाक्लो भीड देखिएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीकै दिन सर्वसाधारणका लागि पूजाआजा र दर्शन गर्न खुल्ने यो मन्दिर आज श्रद्धालुहरूले खचाखच भरिएको छ।
तलेजु भवानी मन्दिरमा दर्शन पाउन भक्तजनहरूको लामो लाइन नयाँ सडकको जुद्ध शालिक हुँदै आसपासका गल्लीमार्गसम्म फैलिएको छ। विगतका वर्षझैं यस वर्ष पनि लाखौं भक्तजन पूजाआराधना र दर्शनका लागि उपस्थित हुने अनुमान गरिएको छ।
परम्पराअनुसार दशैँको नवमीका दिन तलेजु भवानीको विशेष पूजा–आराधना गरिन्छ। भक्तजनहरूले नवमीका दिन यस मन्दिरमा दर्शन पाउँदा वर्षभरि सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास राख्ने गर्छन्।






