काठमाडौँ — यस वर्ष दशैँको टीकाको भोलिपल्टदेखि देशभर भारीदेखि अतिभारी वर्षा हुने सम्भावना मौसमविद्हरूले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाले असोज १७ गते पर्सिदेखि १९ गते आइतबारसम्म विशेष सतर्कता अपनाउन आग्रह गर्दै गएराति विशेष बुलेटिन जारी गरेको छ। यस अवधिमा बाढी, पहिरो, डुबान, कटानलगायतका जलवायुजन्य विपद्को उच्च जोखिम हुने उल्लेख गरिएको छ।
मौसमविद् उज्जवल उपाध्यायले सामाजिक सञ्जालमार्फत आउँदो शनिवार र आइतवारका लागि तय भएका लामो दूरीका यात्रा स्थगित गर्न आह्वान गरेका छन्। त्यस्तै, जलवायु विपद् विज्ञ डा. धर्मराज उप्रेतीका अनुसार असोज २१ गतेसम्म वर्षा निरन्तर हुने देखिन्छ। असोज २१ गते बेलुकादेखि भने प्रणाली कमजोर हुँदै वर्षा रोकिने सम्भावना छ।
त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक विनोद पोखरेलले प्रक्षेपणका लागि प्रयोग गरिने युरोपियन (ECMWF), जर्मन (ICON) र अमेरिकन (GFS) तीनै मोडेलले असोज १७ गते शुक्रबारदेखि ‘आरिघोप्टे वर्षा’ सुरु हुने संकेत गरेको बताए। यी मोडेलअनुसार असोज १८ र १९ मा यसको प्रभाव अझ गहिरो हुने देखिएको छ।
भारतको मौसम विभागले पनि असोज १७ देखि १९ सम्म सिक्किम, पश्चिम बंगाल र बिहारमा अत्यधिक वर्षाको चेतावनी जारी गरिसकेको छ। नेपालमा भने दशैँको टीकादेखि त्रयोदशीसम्म निरन्तर वर्षा हुने महाशाखाले जनाएको छ। विशेषज्ञहरूका अनुसार यसपटक बङ्गालको खाडीमा विकसित न्यून चापीय क्षेत्र भारतको ओडिसाबाट जमिनतर्फ सर्दै मध्य भारत पुगेपछि जलवाष्पयुक्त मनसुनी वायु नेपालतर्फ प्रवेश गर्नेछ।
सामान्यतया नेपालमा मनसुन असोज २ अर्थात् अक्टोबर २ मा समाप्त हुन्छ। तर यस वर्ष दशैँको टीका परेको असोज १६ गतेपछि पनि मनसुन सक्रिय रहने भएकाले मनसुन बाहिरिन केही दिन ढिलाइ हुने देखिएको छ।






