काठमाडौँ – यातायातमन्त्री कुलमान घिसिङले तोकिएको भन्दा बढी भाडा असुल्ने यातायात व्यवसायीलाई तत्काल कारबाही गरिने चेतावनी दिएका छन्।
चाडपर्वको मौका छोपी बढी भाडा असुल्ने, टिकटमा कालोबजारी गर्ने लगायतका गुनासा यात्रुबाट निरन्तर आइरहेकाले यस्ता गैरकानूनी गतिविधि तत्काल बन्द गर्न उनले आग्रह गरेका हुन्।
मन्त्री घिसिङले यात्रुहरूलाई स्वीकृत भाडादरभन्दा बढी असुले तुरुन्तै खबर गर्न आह्वानसमेत गरेका छन्। “यात्रुलाई अनावश्यक दुःख दिएर चाडबाडलाई कमाउने मौका नबनाउन, स्वीकृत भाडादरभन्दा बढी असुल नगर्न र टिकटमा कालोबजारी नगर्न आग्रह गरिएको छ,” उनको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ।
उनले हालको विषम परिस्थितिमा यातायात व्यवसायीसहित सबै पक्ष जिम्मेवार बन्नुपर्ने आवश्यकता औंल्याउँदै कानुन विपरीत काम गर्ने व्यवसायीलाई स्थानीय सुरक्षा निकाय र प्रशासनमार्फत कारबाही अघि बढाइने चेतावनी दिएका छन्।






