दसैंपछि भीषण वर्षा हुने मौसमविद्हरूको चेतावनी, यात्रा गर्दा ध्यान दिन अनुरोध

काठमाडौँ — यस वर्षको दसैं याममा पनि वर्षा अझै सक्रिय देखिएको छ। अहिले गण्डकी र लुम्बिनीका केही स्थानमा पानी परिरहेको छ। मंगलबार बिहान मात्रै मनाङको तालगाउँमा पछिल्लो एक घण्टामा ५.६ मिलिमिटर र बाँकेको भगवानपुरमा ६ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी तथा तराई भू–भागका केही स्थानहरूमा मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना छ। बाँकी प्रदेशका थोरै स्थानमा पनि हल्कादेखि मध्यम वर्षा हुने देखिन्छ। साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।

महाशाखाले बुधबार महानवमी (असोज १५) र बिहीबार दशमी (असोज १६) मा समेत उल्लेख्य वर्षा हुने प्रक्षेपण गरेको छ। महानवमीका दिन कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा हल्कादेखि मध्यम वर्षा हुने देखिन्छ भने टीकाको दिन बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी क्षेत्र तथा कोशी प्रदेशका तराई भू–भागसहित मधेस र सुदूरपश्चिमका थोरै स्थानमा वर्षा हुने सम्भावना छ।

मौसमविद् विनोद पोखरेलका अनुसार दसैंपछि, अर्थात् असोज १५ (सेप्टेम्बर ३१) देखि असोज २१ (अक्टोबर ७) सम्म देशको मध्य र पूर्वी भेगमा भीषण वर्षा हुने सम्भावना छ। तीनवटा मोडलहरूले गत वर्षजस्तै (असोज १०–१३) ठूलो पानी पर्ने देखाएका छन्। भोलिदेखि हल्का वर्षा हुँदै बिहीबार रातिदेखि पूर्वी नेपालमा भारी वर्षा सुरु हुने सम्भावना छ ।

युरोपियन सेन्टर फर मिडियम–रेञ्ज वेदर फरकास्ट (इसिएमडब्ल्युएफ) को प्रक्षेपणअनुसार मधेसमा मुसलधारे वर्षा हुने देखिएको छ भने विराटनगरमा समेत ठूलो पानी पर्ने सम्भावना छ। आइसिओएन मोडलले अक्टोबर १ देखि ६ सम्म बागमतीदेखि कोशीसम्म व्यापक वर्षा हुने र काठमाडौंमा भारी वर्षा हुने प्रक्षेपण गरेको छ। त्यस्तै, ग्लोबल फरकास्ट सिस्टम (जिएफएस) ले पोखरादेखि झापासम्म ठूलो वर्षा हुने देखाएको छ।

पोखरेलले दसैंपछिका यात्रामा सावधानी अपनाउन र बाली भित्र्याउने किसानले विशेष सतर्कता लिनुपर्ने सुझाव दिएका छन्। उनका अनुसार लगातार तीन–चार दिनसम्म पानी पर्न सक्नेछ। यस वर्ष औसतभन्दा बढी वर्षा हुने सम्भावना ६५ प्रतिशतसम्म रहेको अनुमान भए पनि अहिलेसम्म भने सरदरभन्दा कम वर्षा भएको छ। मनसुन सरदरभन्दा १५ दिन अगावै भित्रिएको भए पनि नेपालमा मनसुन याममा १४७२ मिलिमिटर औसत वर्षा हुने अनुमान गरिन्छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्