काठमाडौं – यस वर्षको दशैंको टीकाको भोलिपल्टदेखि देशका विभिन्न स्थानमा मुसल्धारे वर्षा हुने सम्भावना रहेको मौसमविद्हरुले बताएका छन्। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विषयका सहप्राध्यापक विनोद पोखरेलका अनुसार तीन वटा प्रणाली विकास भइरहेकोले भोलिदेखि हल्का, मध्यम हुँदै विजयादशमीको बेलुकादेखि पूर्वी नेपालमा मुसल्धारे वर्षा सुरु हुने देखिन्छ। उक्त प्रणालीको असर तीनदेखि चार दिनसम्म रहने अनुमान गरिएको छ।
यस्तै, जलवायु विपद् विज्ञ डा. धर्मराज उप्रेतीले पनि दशैंको टीकाको भोलिपल्टदेखि मुसल्धारे वर्षा हुने चेतावनी दिएका छन्। सामाजिक सञ्जालमा लेख्दै उनले असोज १८ गतेअघि पनि ठाउँ–ठाउँमा वर्षा हुने र १८ गतेदेखि पूर्वी नेपाल हुँदै अत्यधिक वर्षा हुने सम्भावना रहेको जनाएका छन्।
भारतको मौसम विभागले असोज १७ देखि १९ सम्म सिक्किम, पश्चिम बंगाल र बिहारमा मुसल्धारे वर्षाको चेतावनी जारी गरिसकेको छ। नेपालमा भने असोज १७ गते रातिदेखि कोशी प्रदेश हुँदै प्रवेश गर्ने प्रणाली १९/२० गतेसम्म लुम्बिनी र कर्णाली प्रदेशको तल्लो भागसम्म पुग्ने देखिएको उप्रेतीले बताएका छन्।
मौसमविद्हरूले दशैंमा घर गएकाहरूलाई फर्कने बेलामा मौसम र बाटोको अवस्थाबारे सचेत रहन सुझाव दिएका छन्। त्यस्तै, धानलगायतका बाली भित्राउने समय भएकाले असोज १७ गतेदेखि ४–५ दिनसम्म बाली नभित्राउन पनि सुझाव दिइएको छ।






