सुशील सुवेदी
सिन्धुपाल्चोक – पाँचपोखरी थाङ्पाल गाउपालिकाका जनप्रतिनिधिले एक महिनाको सेवा सुविधावापतको रकम स्वेच्छिक रुपमा “कोभिड १९ सक्रमण रोकथाम तथा उपचार कोष” मा जम्मा गर्ने भएका छन् । जेठ ५ गते सोमबार गाउँपालिकाका अध्यक्ष टासि लामाको अध्यक्षतामा बसेको ८१ औं गाउँकार्यपालिकाको बैठकले सो निर्णय गरेको हो ।
गाउँपालिकाका अध्यक्ष टासि लामा र उपाध्यक्ष सुनिता अधिकारी सहित ८ वटै वडाका वडाध्यक्ष तथा सदस्यले कोषमा रकम जम्मा गर्ने निर्णय गरेको जनाइएको छ । जनप्रतिनिधि हरुको सेवा सुविधा स्वतःस्फूर्त रुपमा गाउँपालिकाले स्थापना गरेको सो कोषमा जम्मा गर्ने निर्णय भएको अध्यक्ष लामाले जानकारी दिए ।
कोषमा जम्मा हुने रकम कोरोना भाइरस नियन्त्रणका लागि आवश्यकताका आधारमा खर्च गरिने गाउँपालिकाले जनाएको छ । साथै बैठक बाट आर्थिक बर्ष ०७७÷०७८ को निति तथा कार्यक्रम –प्रि बजेट) तयारी समेत भएको छ । साथै वडा गत तथा विषय गत योजना छनोट तर्जुमा कार्यक्रम सम्पन्न गर्न सम्पूर्ण वडा अध्यक्ष तथा सदस्यहरुमा निर्देशन दिइएको छ । गाउँपालिकाले ५० लाख रुपिँयाको “कोभिड १९ सक्रमण रोकथाम तथा उपचार कोष ” स्थापना गरेर काम गरिरहेको र सो कोषमा रकम जम्मा गरिएको गाउँपालिकाका प्रवत्ता एवम् वडा नम्बर २ का वडा अध्यक्ष पासाङ लामा तामाङले जानकारी दिए ।