काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेट गरी गाजा शान्ति योजनालाई अघि बढाउन उच्चस्तरीय वार्ता शुरू गर्ने घोषणा गर्नुभएको छ ।
गत हप्ता अरब नेताहरूसँगको छलफलपछि राष्ट्रपति ट्रम्पले झन्डै दुई वर्षदेखि जारी गाजा युद्ध अन्त्य हुने आशा व्यक्त गर्दै हमासले नियन्त्रणमा राखेका बन्धकहरू मुक्त हुने र प्यालेस्टिनी लडाकू समूहलाई निशस्त्र पार्ने सम्झौता प्रभावकारी रूपमा अघि बढेको दाबी गर्नुभएको हो । ट्रुथ सोसलमा लेख्दै उहाँले, “पहिलो पटक सबै पक्ष एउटै दिशामा अघि बढिरहेका छन्,” भनेका छन् ।
तर इजरायली प्रधानमन्त्री नेतान्याहुले भने शुक्रबार राष्ट्रसंघको महासभामा सम्बोधन गर्दै हमासविरुद्ध अन्तिम लक्ष्य हासिल गर्ने प्रतिबद्धता दोहोर्याएका थिए । उहाँले प्रमुख पश्चिमी देशहरूले समर्थन गरेको प्यालेस्टिनी राज्य निर्माणलाई अस्वीकार गर्ने घोषणा गर्दै गाजामा भइरहेको सैन्य आक्रमण नरोक्ने संकेत पनि दिनुभयो ।
युद्धका कारण गाजामा लाखौँ नागरिक विस्थापित भएका छन् । दुवै नेताले आज साँझ भेट गर्दै संयुक्त पत्रकार सम्मेलन गर्ने तय भएको छ ।
सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणपछि शुरू भएको गाजा युद्धमा इजरायली आक्रमणले अहिलेसम्म साढे ६५ हजारभन्दा बढी प्यालेस्टिनीको ज्यान गएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।






