काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना पूर्वसांसदलाई रातो पासपोर्ट र सांसद परिचयपत्र संघीय संसद् सचिवालयमा बुझाउन निर्देशन दिएको छ। पार्टी प्रवक्ता मनिष झाका अनुसार, पूर्वसांसदहरूले जतिसक्दो चाँडो संसद् सचिवालयमा बुझाउन अनुरोध गरिएको छ।
जेनजी आन्दोलनपछि रास्वपाका सांसदहरूले सामूहिक रूपमा पदत्याग गरेका थिए। त्यसपछि पार्टीले पूर्वसांसदहरूलाई सम्पूर्ण सुविधा तथा परिचयसम्बन्धी सामग्री बुझाउन आग्रह गरेको हो। यस्तै, पार्टीले चाडपर्वका अवसरमा कुनै पनि कार्यक्रम आयोजना गर्दा पार्टीको ब्यानर र झण्डा प्रयोग नगर्न सबै तहका कार्यकर्तालाई निर्देशन दिएको छ।
“जेनजीको अगुवाइमा भएको सुशासनका लागि परिवर्तनको महत्त्वपूर्ण आन्दोलनका क्रममा ७५ जनाको ज्यान गएको अवस्थामा हामी राष्ट्रिय शोकको घडीमा छौं,” विज्ञप्तिमा उल्लेख छ, “तसर्थ यसपटक पार्टीको ब्यानर र झण्डा प्रयोग गरेर कुनै किसिमको चाडपर्व सम्बन्धित कार्यक्रम आयोजना नगर्न नगराउन अनुरोध गरिन्छ।”






