काठमाडौं – गएरातिदेखि देशका धेरै ठाउँमा वर्षा भइरहेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा मापन भएको छ भने कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा पनि वर्षा तीव्र भएको छ।
गत २४ घण्टामा कर्णाली प्रदेशको रुकुम पश्चिमको बाँफीकोटमा सबैभन्दा धेरै १४६.६ मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। त्यस्तै, पछिल्ला ६ घण्टामा सिन्धुपाल्चोकको बाह्रबिसेमा ८२.२ मिलिमिटर पानी पर्यो, जुन देशभर सबैभन्दा धेरै हो। त्यही जिल्लाको बाहुनेपाटीमा ४६.४, मानेखर्कमा ३८ र चन्द्रखुमा ३०.८ मिलिमिटर वर्षा मापन भएको छ। दोलखामा पनि ४१.२ मिलिमिटर वर्षा भएको छ।
यसैगरी, पछिल्ला ३ घण्टामा काठमाडौंको कपनमा २६, बैतडीको गोकुलेश्वरमा २४ र काभ्रेको धुलिखेलमा १२ मिलिमिटर पानी परेको छ।
मौसमविद्हरूका अनुसार आगामी दिनहरूमा पनि देशका धेरै ठाउँमा वर्षा जारी रहने सम्भावना छ। दशैंको तयारीमा जुटेकाहरू वर्षाका कारण असजिलोमा परेका छन्।
विभागले जारी गरेको दशैं विशेष मौसम बुलेटिनअनुसार यस वर्ष “हिले दशैं” हुने प्रक्षेपण गरिएको छ। अष्टमी, नवमी र दशमी (टीकाको दिन) सम्म पनि वर्षा जारी रहनेछ। अष्टमी र नवमीको तुलनामा दशमीको दिन अझ धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ।






