काठमाडौं । नेपाल राष्ट्र बैंकले जेनजी आन्दोलनका क्रममा सिर्जना भएको असामान्य परिस्थितिबाट प्रत्यक्ष रूपमा प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा प्रतिष्ठानलाई कर्जाको पुनर्तालिकीकरण सुविधा दिने भएको छ।
राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशनअनुसार प्रभावित ऋणीले अनुरोध गरेमा बैंक तथा वित्तीय संस्थाले २०८२ साल पुस मसान्तभित्र कर्जा पुनर्तालिकीकरण वा पुनर्संरचना गर्नुपर्नेछ। यसरी पुनर्तालिकीकरण वा पुनर्संरचना गरिएका कर्जा २०८२ साल असार मसान्तमा जुन वर्गमा रहेको थियो, त्यही वर्गमा वर्गीकरण हुने र त्यही अनुसार कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने प्रावधान गरिएको छ।
नयाँ निर्देशनअनुसार कम्तीमा १०० जना महिलालाई रोजगारी प्रदान गर्ने र निर्यातमुखी उद्योग सञ्चालन गर्ने संस्थालाई न्यूनतम ब्याजदरमा कर्जा उपलब्ध गराइनेछ। त्यस्तै, कम्तीमा २५ प्रतिशत मूल्य अभिवृद्धि गर्ने र कुल उत्पादनको २५ प्रतिशत निर्यात गर्ने उद्योगलाई इजाजत प्राप्त संस्थाले आधारदरमा बढीमा १ प्रतिशत विन्दु प्रिमियम थप गरी कर्जाको ब्याजदर तोक्न सक्ने व्यवस्था गरिएको छ।
यस्तै, जेन–जी आन्दोलनबाट प्रत्यक्ष प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा प्रतिष्ठानले आफ्ना कर्मचारीलाई तलब दिन आधारदरमा बढीमा ०.५० प्रतिशत विन्दु मात्र प्रिमियम थप गरी कर्जा लिन सक्ने प्रावधान गरिएको छ। यसरी प्रवाह भएका कर्जामा लाग्ने ब्याजदरमा ६ महिनासम्म २ प्रतिशत ब्याजदर सरकारमार्फत अनुदान उपलब्ध हुनेछ।






