काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले लोकतन्त्र र देशलाई कमजोर पार्ने प्रयत्न गर्ने शक्ति कहिल्यै सफल नहुने बताएका छन्।
शनिबार बिहान महाराजगन्जस्थित निजी निवासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महतले पार्टीहरू जागरूक र एकीकृत भई लोकतन्त्रको रक्षा गर्नुपर्नेमा जोड दिए। उनले भने, “कांग्रेस फेरि उठ्नेछ, लोकतन्त्रलाई अझ मजबुत बनाउने दिशामा अघि बढ्नेछ।”
उनका अनुसार पार्टीभित्र भएका कमजोरी र त्रुटिको समेत समीक्षा गर्दै सुधारसहित अघि बढ्ने तयारी गरिएको छ। “पार्टी कार्यालय र नेताहरूको घरमा आगजनी र तोडफोड भए पनि आत्मविश्वास गुमाएका छैनौं, बरु अझ जागरूक भएर उठ्ने अठोट लिएका छौं,” उनले बताए। महतले राजनीतिक दलहरूलाई कमजोर पार्ने षड्यन्त्रतर्फ इङ्गित गर्दै ठूलो बलिदान र त्यागबाट बनेका दलहरूलाई सहजै पराजित गर्न नसकिने उल्लेख गरे। साथै उनले देशलाई विकास, निर्माण र रोजगारीको दिशामा लैजान कांग्रेस गम्भीर रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरे।






