काठमाडौँ – निवर्तमान परराष्ट्रमन्त्री तथा कांग्रेस नेतृ डा. आरजु राणा देउवा ले युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्ष पदबाट राजीनामा दिएकी छिन् । अभिभावकहरूको बैठकमा उनले औपचारिक रूपमा पदत्यागको घोषणा गरेकी हुन् । काठमाडौं र ललितपुरस्थित दुवै शाखामा अध्यक्षको जिम्मेवारी वहन गर्दै आएकी राणाले पछिल्लो समय राजनीतिमा सक्रिय भएपछि विद्यालयबाट अलग हुने प्रस्ताव अघि सारेकी थिइन् ।
अभिभावक स्रोतका अनुसार, अब युलेन्सले नयाँ संरचनाअनुसार ट्रस्टी चयन प्रक्रिया सुरु गर्ने तयारी गरेको छ । प्रारम्भिक १५ वर्ष संस्थापक ट्रस्टीहरूले सञ्चालन गरेको स्कुल आगामी चरणमा अभिभावक र त्यसपछि अल्मुनाइको नेतृत्वमा अघि बढाउने रोडम्याप रहेको बताइएको छ । गत भदौ २४ गतेको जेनजी आन्दोलनमा युलेन्स स्कुलमा तोडफोड र आगजनी हुँदा विद्यालयको सम्पूर्ण भौतिक संरचना जलेर नष्ट भएको थियो । अहिले कक्षाहरू अनलाइनमार्फत सञ्चालन भइरहेका छन् भने कक्षा १०–१२ र आइबीका कक्षा दशैंपछि प्रत्यक्षरूपमा सुरु गर्ने तयारी छ । पूर्णरूपमा फेस–टु–फेस पढाइ ३–४ महिनाभित्रै गर्ने विद्यालयको योजना छ ।
आन्दोलनताका विद्यालयलाई लक्षित गर्दै भ्रामक प्रचार र अफवाह फैलाइएको भन्दै युलेन्स स्कुलले पछिल्लो हप्ता विज्ञप्ति सार्वजनिक गरेको थियो । विज्ञप्तिमा डा. आरजु राणाको संलग्नता केवल व्यवस्थापन समितिसम्म मात्र सीमित रहेको स्पष्ट गरिएको छ । युलेन्सले भनेको छ, “डा. देउवा विद्यालयको नाफामूलक स्वामित्व वा ट्रस्टीमा संलग्न छैनन् । उनको भूमिका सामुदायिक विद्यालय व्यवस्थापन समितिका सदस्य सरह मात्र हो ।” विद्यालयले आरजु राणामाथि गरिएको दुष्प्रचारको खण्डन गर्दै अफवाह फैलाउनेहरूप्रति चुनौती दिएको छ ।






