काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेताहरूको पासपोर्ट रोक्का गर्नु मात्रै नभई आवश्यक परे उनीहरूलाई पक्राउ गर्नुपर्ने पनि हुन सक्ने बताएका छन् । बिहीबार साँझ मन्त्रिपरिषद् बैठकपछि सिंहदरबारबाट बाहिरिने क्रममा पत्रकारहरूको जिज्ञासामा मन्त्री अर्यालले भ्रष्टाचार तथा जेन–जी आन्दोलनमा दमन गर्ने नेताहरू पक्राउ पर्नसक्ने चेतावनी दिएका हुन् ।
पत्रकारका प्रश्नको जवाफ दिँदै गृहमन्त्री अर्यालले भने, ‘कानुनमा सबै कुरा स्पष्ट छ । अनुसन्धान गर्ने निकायले आवश्यक ठानेको काम गर्छ । पासपोर्ट रोक्का मात्र होइन, पक्राउ गरेर बयान लिनुपर्ने अवस्था आएमा त्यसो पनि गरिन्छ ।’ मन्त्री अर्यालले भ्रष्टाचारको छानबिनका लागि राज्यका अनुसन्धान गर्ने निकायहरू सक्रिय भइसकेको पनि बताए । ‘कानुनमा लेखिएअनुसार नै काम हुन्छ,’ उनले भने, ‘राज्यका निकायहरूले अनुसन्धान थालिसकेका छन् ।’
उनले भ्रष्टाचार विरुद्ध र सुशासनको पक्षमा सरकार दृढ रहने पनि बताए । ‘पाँच वर्षको म्यान्डेट पाएको सरकार पनि बीचमै भंग भयो । यदि सुशासनको मामिलामा कदम नचाल्ने हो भने यो सरकारको पनि म्यान्डेटमा प्रश्न उठ्छ । त्यसैले सरकारले राम्रोसँग खुट्टा टेक्छ’, गृहमन्त्रीले भने । हिजै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पनि अहिले नेताहरूबारे उठिरहेका प्रश्नमा सरकारले अनुसन्धान थालिसकेको बताएका थिए । उनले भनेका थिए, ‘पासपोर्ट राेक्काको सम्बन्धमा तथा भ्रष्टाचारसँग जोडिएकाहरूको सम्बन्धमा राज्यका संयन्त्रहरूले अनुसन्धान गरिरहेको कुरा अवगत गराउन चाहन्छु ।’ नेताहरूको पासपोर्ट रोक्काबारे पत्रकारको पुरक प्रश्नमा सञ्चारमन्त्री खरेलले भने, ‘राहदानीको सम्बन्धमा पनि के कस्तो गर्ने भनेर अनुसन्धान चाहिँ अगाडि बढेको छ ।’






