काठमाडौं – मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत तुइनखोला नजिकै खसेको पहिरो पन्छाउने काम करिब ६० प्रतिशत सम्पन्न भएको छ । बिहीबार दिउँसो पौने ३ बजेसम्मको अवस्था अनुसार सो मात्राको काम सकिएको सडक डिभिजन भरतपुरले जनाएको छ ।
पहिरो पन्छाउनका लागि नारायणगढतर्फ २ र मुग्लिनतर्फ ३ गरी ५ वटा उपकरण प्रयोग भइरहेको छ भने दुवैतर्फ थप १/१ वटा उपकरण तयारी अवस्थामा राखिएको छ । क्षेत्र साँघुरो भएकाले एकै पटकमा ५ वटा उपकरणले मात्रै काम गर्न सक्ने अवस्था रहेको डिभिजनले जनाएको छ ।
नारायणगढतर्फ ठूलो ढुंगाहरू भेटिँदा केही कठिनाइ भए पनि उपकरणहरूले पूर्ण क्षमतामा काम गरिरहेका छन् । सडकमाथिबाट खसेको ढुंगाको मात्रा बढी भएकाले टायर पन्चर हुने, ढुंगाले अपरेटर घाइते हुने जोखिमजस्ता समस्या आएकाले प्रगति ढिलो भएको हो । यद्यपि, हेटौंडा र डुम्रेबाट थप दुई जना अपरेटर बोलाएर कामलाई निरन्तरता दिइएको छ ।
सडक डिभिजन भरतपुरका अनुसार काममा थप अवरोध नआए आज रातिसम्ममा पहिरो पूर्ण रूपमा पन्छाएर आवागमन सञ्चालनमा ल्याउने अपेक्षा गरिएको छ ।







