साताको अन्तिम दिन सेयर बजार २.३५ अंकले घट्यो, कारोबार रकम पनि घट्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा सामान्य गिरावट आएको छ । नेप्से परिसूचक २.३५ अंकले घटेर २६५२ अंकमा झरेको छ । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेर ३ अर्ब २६ करोडमा सीमित भएको छ । बुधबार भने ४ अर्ब १२ करोडको कारोबार भएको थियो ।

विशेषगरी दशैंको प्रभावले सेयर कारोबार सुस्ताएको हो । दशैंअघि सेयर खरिद गरे पनि डिम्याट खातामा सेयर नपुग्ने र बिक्री गरे पनि बैंक खातामा रकम नजाने भएकाले लगानीकर्ताहरू खरिद–बिक्री गर्न अनिच्छुक देखिएका हुन् । अब बजार दशैंपछि आइतबार मात्रै खुल्नेछ ।

आज १०७ कम्पनीको मूल्य बढ्दा १३९ कम्पनीको घट्यो भने ५ कम्पनीको मूल्य स्थिर रह्यो । अधिकांश समूहका सूचक हरिया भएनन् । बैंकिङ ०.१२, लगानी ०.२१ र व्यापार समूह १.३६ प्रतिशत बढे पनि विकास बैंक ०.४४, फाइनान्स ०.५०, होटल तथा पर्यटन १.४९, हाइड्रोपावर ०.०४, जीवन बीमा ०.०२, उत्पादन तथा प्रशोधन ०.६३, माइक्रोफाइनान्स ०.०९, निर्जीवन बीमा ०.३९ र अन्य समूह ०.४९ प्रतिशत घटे ।

कम्पनीहरूको मूल्य परिवर्तनमा हिमस्टार ऊर्जाको मूल्य १० प्रतिशतले बढेर सबैभन्दा बढी वृद्धि भएको हो । त्यस्तै कालिका पावर ६.७२ र गुराँस लघुवित्त ६.२९ प्रतिशत बढे । विपरीत सिटी होटलको मूल्य ७.५५ प्रतिशतले घटेर सबैभन्दा बढी गिरावट आएको छ । नारायणी डेभलपमेन्ट बैंक ५.८५ र समता घरेलु लघुवित्त ४.७४ प्रतिशतले घटे ।

धेरै कारोबार भएका कम्पनीहरूमा नेपाल पुनर्बीमा, युनियन हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स, कालिका पावर र लुम्बिनी विकास बैंक क्रमशः शीर्ष पाँचमा परेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्