काठमाडौँ- नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले मन्त्री र सांसदले आफ्ना सचिवालयमा परिवारका सदस्यलाई नराख्ने प्रस्ताव अघि सारेको छ। मंगलबार बसेको बैठकमा पूर्वमुख्यमन्त्री तथा दलका नेता राजेन्द्र सिंह रावलले मन्त्री वा सांसदको सचिवालयमा परिवार वा नातेदारलाई राख्ने प्रथालाई अन्त्य गर्नुपर्ने सुझाव दिएका हुन्। उनले अहिले कतिपय मन्त्रीले स्वकीय सचिव, चालक र भान्सेसम्ममा परिवारका सदस्य तथा नातेदार नियुक्त गरेको भन्दै त्यस्ता नियुक्ति तुरुन्त खारेज गर्नुपर्ने धारणा राखेका थिए।
बैठकमा सहभागी सांसदका अनुसार, रावलको प्रस्तावमा सबै सांसदहरू सकारात्मक देखिएका छन्। उनका अनुसार, “परिवार वा नजिकका नातेदारको सट्टा पार्टीकै भूमिकामा रहेर दक्षता देखाएका व्यक्तिलाई जिम्मेवारी दिनु राम्रो हुन्छ।”बैठकले हालैको जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटको छानबिन गर्न संसदीय समिति गठन गर्ने निर्णय गरेको छ। साथै, सबै सांसदलाई जिल्ला केन्द्रीत भएर काम गर्न निर्देशन दिइएको छ।
त्यसअनुसार सांसदहरूले जिल्लामा पुगेर आन्दोलनका क्रममा भएको क्षतिको अध्ययन गरी प्रतिवेदन तयार पार्ने निर्णय पनि गरिएको छ।






