काठमाडौं – मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोलामा खसेको भीषण पहिरो पन्छाउन बुधबार दिनभर लाग्ने भएको छ। मंगलबार बिहानैदेखि ढुंगासहितको सुक्खा पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा थियो तर दिउँसो ४:५० बजे फेरि ठूलो पहिरो झर्दा आवागमन पूर्णरूपमा अवरुद्ध भएको सडक डिभिजन भरतपुरले जनाएको छ।
डिभिजनले सवारी धनी र यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। तनहुँको खैरेनीटार हुँदै डेढगाउँ–गैंडाकोट हुँदै नारायणगढ पुग्ने सडकलाई विकल्पका रूपमा प्रयोग गर्न सकिने बताइएको छ। गण्डकी प्रदेश सरकारले गौरवकाे योजना स्वरूप निर्माण गरिरहेको यो मार्ग विशेषगरी साना सवारीसाधनका लागि उपयुक्त मानिएको छ।
यस्तै, मोटरसाइकल चालकहरूले दमौली–केशवटार–सुखौरा–धरमपानी हुँदै झोलुंगे पुल पार गरेर पनि मुग्लिन–नारायणगढ सडकमा निस्किन सक्ने स्थानीयले बताएका छन्। दसैं नजिकिँदै गर्दा लगातार पहिरोले बाटो अवरुद्ध हुँदा यात्रुहरू दैनिक सास्ती भोग्न बाध्य भएका छन्।






