काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी टोपबहादुर रायमाझी कारागार फर्केका छन् । जेन–जीको प्रदर्शनका क्रममा गत भदौ २४ गते सुन्धारास्थित कारागारबाट निस्केका उनी करिब दुई सातापछि पुनः कारागार फर्किएका हुन् । मंगलबार रायमाझी कारागार फर्केको कारागार प्रशासन स्रोतले जनाएको छ ।
रायमाझीसँगै सुन्धारा कारागारबाट मात्रै ३३ सय कैदीबन्दी बाहिरिएका थिए । देशभरका कारागारबाट १४ हजारभन्दा बढी कैदीबन्दी निस्केका मध्ये करिब आधाजसो अहिले सम्म फर्किसकेका छन् । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा रायमाझीसहितका व्यक्तिविरुद्ध मुद्दा चलिरहेको छ । काठमाडौं जिल्ला अदालतको आदेशअनुसार उनी पुर्पक्षका लागि कारागारमा रहेका थिए ।
उनीसँगै सोही प्रकरणमा संलग्न मानिएका तत्कालीन सचिव टेकनारायण पाण्डे पनि सुन्धारा कारागारबाट बाहिरिएका थिए । तर, पाण्डे भने अझैसम्म कारागार फर्किएका छैनन् ।






