काठमाडौं – पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जवाङ खोला (बाँदरे मोड) मा खसेको ठूलो सुक्खा पहिरो पन्छाउन आज दिनभर लाग्ने अनुमान गरिएको छ ।
नागढुंगा–मुग्लिन सडक योजना कार्यालय पश्चिम खण्डका प्रमुख केदार नेपालका अनुसार पहिरो अत्यन्त ठूलो भएकाले छोटो समयमा पन्छाउन कठिन भएको हो । उनका अनुसार आज दिनभर सवारी सञ्चालन हुने सम्भावना न्यून छ ।
चितवन र धादिङको सिमाना नजिक रहेको बाँदरे मोडमा सोमबार राति साढे १० बजेतिर पहिरो खसेपछि सडक अबरुद्ध भएको थियो । त्यसलाई हटाएर राति ११ बजेतिर एकतर्फी सडक सञ्चालन गरिएको थियो । तर साढे ११ बजे पुनः ठूलो पहिरो खसेपछि सडक पूर्णरूपमा बन्द भयो ।
आज बिहान २ बजेदेखि मेसिन परिचालन गरी पहिरो पन्छाउने काम भइरहेको अवस्थामा बिहान ५ बजे झन् ठूलो पहिरो खस्दा सडक पुनः ठप्प भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । अहिले पनि स–साना मेसिन प्रयोग गरी काम सुरु गर्ने तयारी भए पनि निरन्तर पहिरो खसिरहेकाले जोखिमपूर्ण भएको प्रहरीले जनाएको छ ।
सडक बन्द भएपछि रातिदेखि नै यात्रु तथा गाडी चालकहरु बाटोमै अलपत्र परेका छन् । उनीहरुलाई सुरक्षित स्थानमा रहन तथा लेन अनुशासन पालना गर्न प्रहरीको आग्रह छ । यसअघि गत शुक्रबार मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोलामा खसेको पहिरोका कारण ४० घण्टासम्म सडक अवरुद्ध हुँदा यात्रुहरुले ठूलो समस्या भोगेका थिए । त्यतिबेलाको चाप अझै सामान्य नहुँदै पुनः धादिङमा पहिरो खसेपछि यात्रुहरुको दशैंयात्रा झन् कष्टकर बनेको छ ।







