काठमाडौँ – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले डा. संगीता कौशल मिश्राविरुद्ध छानबिन भइरहेको जानकारी प्रधानमन्त्री कार्यालयलाई दिएपछि उनको स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्ति प्रक्रिया रोकिएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मिश्रालाई स्वास्थ्य मन्त्री बनाउने सिफारिस गर्दै नाम राष्ट्रपति कार्यालयमा पठाएकी थिइन् । तर, अख्तियारले मिश्राविरुद्ध अनुसन्धान सकिन लागिएको र मुद्दा दर्ता हुने तयारी भइरहेको जानकारी दिएपछि प्रधानमन्त्री कार्की पुनर्विचारमा पुगेकी हुन् ।
‘प्रधानमन्त्री उहाँको नाम पुनर्विचार गर्नेपक्षमा हुनुहुन्छ,’ प्रधानमन्त्री निकट स्रोतले जनाएको छ, ‘आज कार्यालय खुलेपछि उनको नाम राष्ट्रपति कार्यालयबाट फिर्ता हुन्छ भन्ने अपेक्षा छ ।’
डा. मिश्राले मन्त्री बन्ने आशमा अतिरिक्त सचिवको पदबाट राजीनामासमेत दिएकी थिइन् । यसअघि उनी स्वास्थ्य सचिव बन्ने दौडमा रहेकी थिइन् तर गत फागुन २२ गतेको मन्त्रिपरिषद् बैठकले डा. विकास देवकोटालाई सचिवमा नियुक्त गरेपछि विवाद उत्पन्न भएको थियो ।
प्रधानमन्त्री कार्कीले आइतबार संगीता मिश्रासहित पाँच जना नयाँ मन्त्रीको नाम राष्ट्रपति कार्यालयमा पठाएकी थिइन् । सिफारिस गरिएका अन्य चार जनामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा महावीर पुन, उद्योग तथा भूमिसुधार मन्त्रीमा अनिलकुमार सिन्हा, सञ्चार, सूचना तथा प्रविधि मन्त्रीमा जगदीश खरेल र कृषिमन्त्रीमा डा. मदन परियार रहेका छन् ।
डा. मिश्राले २०५७ सालमा स्वास्थ्य सेवामा प्रवेश गरेर करिब एक वर्ष काम गरेकी थिइन् । पछि फुलब्राइट छात्रवृत्तिमा अमेरिका अध्ययन गरी फर्किएपछि २०७० साल असोज १० गते पुनः प्रतिस्पर्धामार्फत ११औं तहमा स्वास्थ्य सेवामा प्रवेश गरेकी थिइन् । उनले स्वास्थ्य सेवा विभाग महानिर्देशक, कोशी अस्पताल र परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल प्रमुखको जिम्मेवारी समेत सम्हालिसकेकी छन् ।






