अरनिको राजमार्गको ट्र्याक खुलेपछि चीन–नेपाल व्यापार सुचारु हुने बाटो

काठमाडौं – एक महिनादेखि पूर्णरुपमा अवरुद्ध अरनिको राजमार्ग अन्तर्गत बाह्रबिसे–कोदारी सडकखण्डको ट्र्याक खुलिसकेको छ । लगातारको वर्षासँगै खसेको पहिरो हटाएपछि आइतबारदेखि ट्र्याक सञ्चालनयोग्य बनेको हो ।

सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख नारायणदत्त भण्डारीका अनुसार सोमबारदेखि ग्राभेल गर्ने काम सुरु हुनेछ र त्यसपछि मात्र सवारी साधन सञ्चालनमा ल्याइनेछ । “एक महिनादेखि अवरुद्ध बाह्रबिसे–कोदारी सडकखण्डको ट्र्याक आइतबारबाट पूर्णरुपमा खुलेको छ, भोलिबाट ग्राभेल गरेपछि सवारी सञ्चालन सम्भव हुनेछ,” उनले बताए ।

यो सडकखण्डमा डाक्लाङ क्षेत्रमा तीन, घट्टेखोलामा एक र कोदारीतर्फ एक गरी पाँच ठाउँमा पहिरो खसेको थियो । पहिरो पन्छाउनका लागि ३ वटा एस्काभेटर, ३ वटा लोडर, १३ वटा टिपर र ४० जना मजदुर खटाइएको थियो ।

भदौ ८ गतेदेखि अवरुद्ध भएको यस राजमार्ग बन्द हुँदा स्थानीय जनजीवनसँगै चीन–नेपाल व्यापारमा समेत ठूलो असर परेको थियो । पानी पर्नासाथ लेदो–ढुंगा मिश्रित पहिरो खस्ने समस्या दीर्घकालीन रूपमा समाधान गर्नुपर्ने स्थानीयको मागपछि केही समय काम रोकिएको थियो ।

अन्तरिम चुनावी सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री समेत रहेका कुलमान घिसिङले सरोकारवालासँग बैठक गरी कामलाई तीव्रता दिन निर्देशन दिएपछि गत असोज ३ गते तातोपानी भन्सारमा बसेको सर्वपक्षीय बैठकले सहमति जुटाएको थियो । सहमति अनुसार कात्तिक मसान्तभित्र ठेक्का प्रक्रिया अघि बढाउने र असार मसान्तभित्र दीर्घकालीन काम सुरु गर्ने तयारी गरिएको छ ।

सडक डिभिजन कार्यालयले सात दिनभित्र सडक खुलाउने लक्ष्यअनुसार काम अघि बढाउँदै आइतबारबाट ट्र्याक सञ्चालनमा ल्याउन सफल भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्