काठमाडौँ – नेपाली कांग्रेसका पूर्वपदाधिकारीहरूबीच पार्टीको आन्तरिक समीकरण, नेतृत्व परिवर्तन र आगामी महाधिवेशनका विषयमा चाक्सीबारीस्थित पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवासमा छलफल भएको छ ।
छलफलमा पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्रीहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला तथा पूर्वसहमहामन्त्री एवं वर्तमान प्रवक्ता डा. प्रकाशशरण महत सहभागी थिए ।
स्रोतका अनुसार शुक्रबार बसेको कार्यसम्पादन समिति बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले उठाएको विशेष महाधिवेशन आह्वान र नेतृत्व परिवर्तनको प्रस्तावलाई लिएर साझा धारणा बनाउन ती नेताहरूबीच छलफल भएको हो । साथै, पार्टीको आगामी १५औँ महाधिवेशनमा कसरी अघि बढ्ने भन्ने रणनीतिबारे पनि कुराकानी केन्द्रित भएको छ । कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठ अस्वस्थ भएर बैठकमा सहभागी थिएनन् भने अर्का पूर्वउपसभापति विजयकुमार गच्छदार काठमाडौं बाहिर थिए । बैठकमा विषम परिस्थितमा पार्टीलाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल केन्द्रित भएको सहभागी एक नेताले जानकारी दिए ।






