पोखरामा नाबालिका बलात्कार प्रयासको घटना वडा कार्यालयमै मिलापत्र, प्रहरी भन्छ – मिल्दैन

 

पोखरा –  पोखरा महानगरपालिका वडा नम्बर–२९ मा नाबालिका माथि भएको बलात्कार प्रयासलाई वडाध्यक्षकै रोहबरमा मिलापत्र गरिएको खुलेको छ।

स्थानीय ३० वर्षीय सुमन भण्डारीले गत बुधबार राति एक नाबालिकाको कोठामा प्रवेश गरी बलात्कार प्रयास गरेका थिए। नाबालिका चिच्याएपछि भण्डारी भागेका थिए। घटना बाहिरिएपछि पीडित परिवार टोल विकास संस्थामा पुगेका थिए भने वडाध्यक्ष श्रीप्रसाद गुरुङको घरमा समेत गएर घटनाबारे जानकारी गराएका थिए।

तर, कानुनी प्रक्रिया अघि नबढाई वडाध्यक्ष गुरुङ (नेकपा एमाले) सहित जनप्रतिनिधि र टोल विकास समितिका पदाधिकारीको रोहबरमा मिलापत्र गरिएको एक जनप्रतिनिधिले जानकारी दिए। मिलापत्रका क्रममा आरोपित भण्डारीलाई नाबालिकाको खुट्टामा ढोग्न र २५ पटक उठबस गर्न लगाइएको जनाइएको छ। सो क्रममा ‘अब आइन्दा त्यस्तो नगर्ने’ सर्तमा घटनालाई टुंग्याइएको थियो।

स्थानीयका अनुसार भण्डारी घटनाका समयमा मदिरा सेवन गरेको अवस्थामा थिए। पीडित भने दलित समुदायकी नाबालिका हुन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतका अनुसार घटनाबारे अहिलेसम्म कुनै जानकारी प्राप्त भएकाे छैन । बलात्कारका घटनामा मिलापत्र गर्न नमिल्ने भन्दै उनले यससम्बन्धी औपचारिक जानकारी नआएको बताए । यस विषयमा बुझ्न वडाध्यक्ष गुरुङलाई सम्पर्क गर्दा उनको फोनमा सम्पर्क हुन सकेन ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्