जेनजी आन्दोलनमा भएको हिंसात्मक गतिविधि छानबिन गरिने : गृहमन्त्री अर्याल

काठमाडौँ – अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा भएका विध्वंसात्मक गतिविधिहरूलाई गम्भीरतापूर्वक अनुसन्धान गरी कानुनी दायरामा ल्याइने बताएका छन्। बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित भर्चुअल बैठकमार्फत देशभरका करिब तीन सय युनिट प्रमुखलाई निर्देशन दिँदै उनले आन्दोलनमा घुसपैठ भएको प्रमाणहरू सार्वजनिकमा आइसकेको बताए।

गृहमन्त्री अर्यालले भने, “जेनजीले गरेको सुरुवात भ्रष्टाचारविरुद्ध थियो, तर हिंसात्मक गर्ने होइन। तर, सामाजिक सञ्जालमा आएका दृश्य र क्रियाकलापले आन्दोलनमा स्वार्थपूर्ति गर्ने घुसपैठ भएको स्पष्ट देखिन्छ।”

उनले आन्दोलन अवधिमा प्रहरी संरचनामा गम्भीर प्रहार भए पनि सुरक्षाकर्मीले संयमता देखाएको भन्दै प्रशंसा गरे। तर, पूर्वसूचना व्यवस्थामा कमजोरी देखिएको भन्दै उनले प्रहरी अधिकारीलाई प्रश्न गरे, “अकल्पनीय क्षति हुनसक्ने पूर्वसूचना किन पाइएन ?” अर्यालले प्रहरीको अनुपस्थिति वा कमजोर उपस्थितिले अराजकता फैलाउने खतरा हुने चेतावनी दिँदै कानुनअनुसार कर्तव्यपालन जारी राख्न आग्रह गरे। भदौ २३ र २४ मा भएको प्रदर्शनबारे आधिकारिक निकायले औँल्याएका कमजोरी सुधार गरिने बताए।

नयाँ बानेश्वरमा प्रदर्शनकारीमाथि भएको बल प्रयोगबारे पनि छानबिन हुने उल्लेख गर्दै गृहमन्त्रीले गोली चलाउनुपर्ने अवस्था आउनु दुःखद भएको बताए। उनले भने, “परिस्थितिले जस्टिफाइ गर्नेबाहेक बल प्रयोग गर्नु हुँदैन। मानवीय क्षति नहोस् भनेर आवश्यक इक्विपमेन्ट नै नभएको जानकारी पाउँदा असहज लागेको छ।” अर्यालले आन्दोलनको मर्मलाई नै केन्द्रमा राख्नुपर्नेमा जोड दिँदै प्रहरीलाई आदर्श राष्ट्र निर्माणको प्रक्रियामा अग्रसर रहन आग्रह गरे।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्