नेप्सेमा १६० अंकको गिरावट, तीन पटक सर्किट ब्रेकर लागेपछि कारोबार बन्द

काठमाडौं – जेनी–जी आन्दोलनपछि पहिलो दिन बिहीबार खुलेको शेयर बजार (नेप्से)मा ठूलो गिरावट आएको छ। बजार १६० अंकले घट्दै ६ प्रतिशतले ओर्लिएपछि आज दिनभरका लागि कारोबार बन्द भएको छ। बिहीबार बजार खुलेको पहिलो दुई मिनेटमै नेप्से ४ प्रतिशतले घटेपछि २० मिनेटका लागि पहिलो सर्किट ब्रेकर लाग्यो। त्यसपछि ११:२२ बजे पुनः खुलेको बजार एक मिनेटमै फेरि ५ प्रतिशतले घट्दा दोस्रो सर्किट ब्रेकरमार्फत ४० मिनेटका लागि कारोबार रोकियो।

तर बजार खुलेपछि पुनः नेप्से ६ प्रतिशतले घटेपछि १२:०६ बजे तेस्रो सर्किट ब्रेकर लागू गर्दै आजकै कारोबार बन्द गरिएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ। कारोबार बन्द हुँदा नेप्से परिसूचक १६० अंकले घटेर २,५११.९१ बिन्दुमा ओर्लिएको थियो।

नेपालमा शेयर बजारमा हुने अस्वाभाविक उतारचढाव नियन्त्रण गर्न २०६४ सालदेखि सर्किट ब्रेकर प्रणाली लागू गरिएको हो। यसअनुसार बजार खुलेको पहिलो घन्टामा नेप्से ४ प्रतिशतले बढ्दा वा घट्दा २० मिनेट, दोस्रो घन्टामा ५ प्रतिशत पुग्दा ४० मिनेट र तेस्रोपटक ६ प्रतिशत पुगेपछि सो दिनको बाँकी कारोबार पूरै बन्द हुने व्यवस्था छ।

सिर्फ समग्र बजारमा मात्र नभई कम्पनीगत रूपमा पनि सर्किट ब्रेकरको प्रावधान छ। कुनै कम्पनीको शेयर मूल्य १० प्रतिशतभन्दा बढी बढघट भएमा सोही कम्पनीको कारोबार रोकिने व्यवस्था नेप्सेले गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्