कोटेश्वर भाटभटेनीमा फेला परेको जलेको शवको पहिचान, मृतक संख्या ७४ पुग्यो

काठमाडौं – कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा डढेको अवस्थामा फेला परेको शवको पहिचान भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार मृतक रामेछापको खाँडादेवी गाउँपालिका–६ घर भएका २२ वर्षीय विकास रसाइली भएको पुष्टि भएको हो । डढेको अवस्थामा फेला परेका रसाइलीको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । शव पूरै जलेको भएकाले सुरुमा पहिचान गर्न कठिन भएको प्रहरीको भनाइ छ ।

योसँगै हालसम्म जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या ७४ पुगेको छ । यसअघि मृत्यु संख्या ७३ रहेको थियो ।

यसअघि चुच्चेपाटीस्थित भाटभटेनीबाट डढेको अवस्थामा सात वटा शव फेला परेका थिए । ती शव अस्थिपञ्जरको अवस्थामा भेटिएकाले अझै पहिचान हुन सकेको छैन । शवहरू त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको प्रहरीले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्