काठमाडौं – दशैँ पर्व अझै सुरू नभइकनै राजधानीको गोङ्गबुस्थित नयाँ बसपार्क यात्रुको भीडले भरिन थालेको छ। ‘जेन–जी’ प्रदर्शनका कारण त्रिभुवन विश्वविद्यालय र अन्तर्गतका क्याम्पसहरूमा बिदा भएपछि विद्यार्थीहरू गृहजिल्ला फर्किन थालेका छन्। त्यसका कारण सामान्य दिनको तुलनामा नयाँ बसपार्कमा यात्रुको सङ्ख्या निकै बढेको छ।
ल्हाेत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लका अनुसार यसअघि दैनिक ४ देखि ५ हजार यात्रु मात्रै बसपार्कबाट बाहिरिने गरेका थिए। तर अहिले यो सङ्ख्या बढेर १२ देखि १५ हजार पुगेको छ। आन्दोलन शान्त भएपछि मात्रै करिब ६५ हजारभन्दा बढी यात्रु बसपार्क हुँदै बाहिरिइसकेको मल्लले जानकारी दिनुभयो।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले अहिले नै यात्रुको चाप बढ्न थालेकाले दशैँको मुख्य समयमा गृहजिल्ला जाने यात्रुको सङ्ख्या घट्न सक्ने अनुमान गर्नुभएको छ। यसैबीच, सरकारले दशैँ अवधिमा सार्वजनिक यातायातलाई सहज बनाउन असोज ६ गतेदेखि २२ गतेसम्म रुट परमिट खुला गर्ने निर्णय गरेको छ। तर व्यवसायीहरूले भने यस वर्ष दशैँका लागि अग्रिम टिकट नखोल्ने जनाएका छन्।






