काठमाडौं – देशमै सुविधा सम्पन्न विश्वविद्यालय, कलेज तथा शैक्षिक संस्था हुँदाहुँदै पनि अध्ययनका लागि विदेशिनेक्रम घट्ने सट्टा झनै बढ्दै गएको छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा मात्रै विद्यार्थीहरूले अध्ययनका लागि १४ अर्ब ३१ करोड रुपैयाँ विदेश लगेका छन्।
गत वर्षको सोही अवधिमा अध्ययनका लागि १४ अर्ब ९६ करोड रुपैयाँ बाहिरिएको थियो। यस आधारमा शिक्षातर्फको व्यय यस वर्ष अलिकति घटे पनि बाहिरिने रकम अझै उच्च नै देखिएको छ। राष्ट्र बैंकका अनुसार चालु आवको पहिलो महिनामा सेवा खाताअन्तर्गत भ्रमण व्यय २.८ प्रतिशतले घटेर २१ अर्ब ७० करोड रुपैयाँमा झरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो व्यय २२ अर्ब ३२ करोड रुपैयाँ थियो।
समीक्षा अवधिमा सेवा खाताअन्तर्गत खुद सेवा आय भने १३ अर्ब ३९ करोड रुपैयाँले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो घाटा १५ अर्ब ६ करोड रुपैयाँ थियो। त्यस्तै, भ्रमण आय भने १२.७ प्रतिशतले वृद्धि भई ५ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा भ्रमण आय ४ अर्ब ७७ करोड रुपैयाँ मात्र थियो। शिक्षा खर्च विदेशतर्फ बढ्दो क्रममा रहँदा देशभित्रै शैक्षिक संस्थाहरूमा विद्यार्थी आकर्षित गर्ने चुनौती थप गहिरिँदै गएको विज्ञहरूको टिप्पणी छ।






