काठमाडौं – सुदन गुरूङ नेतृत्वको समूहले आइतबार राति प्रधानमन्त्री निवास बालुवाटार अगाडि नाराबाजी गर्दै प्रधानमन्त्री सुशीला कार्कीको राजीनामासमेत माग गरेको छ। मन्त्रिपरिषद् विस्तारमा आफूहरूसँग सल्लाह नगरी निर्णय गरिएको भन्दै उनीहरूले विरोध गरेका हुन्।
यसैबीच प्रधानमन्त्री कार्कीले अधिवक्ता ओमप्रकाश अर्याललाई गृह तथा कानुन मन्त्रालय, पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ मन्त्रालय र नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेकी छन्।
यसअघि उनले वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गरेकी थिइन्। कार्कीको मन्त्रिपरिषद् अधिकतम ११ सदस्यीय हुने भएको छ।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि जेन–जी आन्दोलनको दबाबमा कार्की अन्तरिम सरकारको नेतृत्व गर्न नियुक्त भएकी हुन्। उनी नेपालको इतिहासमै पहिलो महिला प्रधानमन्त्री बनेकी छन्।






